–सञ्जिव सुनार, मकवानपुरगढी । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शुक्रबारबाट टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित कुर्लेदमारको मैदानमा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर १ वडाअध्यक्ष आइत सिं लोले गरेका थिए ।

प्रतियोगिता उद्घाटनको पहिलो दिन सनराइज युवा क्लब, वार्ड २ भालुन्टार र मक्रानचुली रेड विजयी भएको छ । उद्घाटन अर्थात पहिलो खेलमा सनराइजले मक्रानचुली रेडलाई एक विकेट, दोस्रो खेलमा वार्ड २ भालुन्टारले वडा नम्बर ५ लाई ८ विकेट र तेस्रो खेलमा मक्रानचुली रेडले मक्रानचुली लाइटलाई ३५ रनले हराएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको मक्रानचुली रेडले १० ओभर पूरै खेलेर ४ विकेटको गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको लक्ष्यसहित जवाफी ब्यटिङमा उत्रिएको सनराइजले ९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

सनराइजलाई जित दिलाउनका लागि प्रज्वल न्यौपानेले सर्वाधिक २१ रन बनाए ।

त्यस्तै, सागर न्यौपानेले १८, विशाल अधिकारी र अनिस न्यौपानले समान ७/७, अर्पन शर्माले ६, विवश सुवेदी र प्रकाश लामाले समान ३/३, सविन पाण्डेले १ रन जोड्दा सुजन अधिकारी खाता नै नखोली आउट भए । बलिङतर्फ मक्रानचुली रेडका मनिक सञ्जेल र अनुप पोखरेलले समान २/२ विकेट लिँदा सुनमा घिमिरे र कौशल देवकोटाको नाममा १/१ विकेट रह्यो ।

उता पहिले ब्यटिङ गरेको मक्रानचुली रेडका रविन्द्र विक्रमले सर्वाधिक ३० रन बनाए । कृतिश दहाल १४, रोजन पोखरेलले ११ उत्सर्ग लामिछानेले ५ अनुप पोखरेलले २ र बिनम्र अधिकारी १ रन बनाएका थिए । बलिङतर्फ प्रकाश लामाले २ र दिवश सुवेदीले १ विकेट लिएका थिए । पहिलो खेलमा विजेता टोली सनराइनका प्रकाश लामा म्यानअफ दि म्याच घोषित भए ।

त्यस्तै, दोस्रो खेलमा टस हारेर पहिला ब्यटिङ गरेको वडा नम्बर ५ ले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रनको दिएको लक्ष्य भालुन्टारले ५।५ ओभर खेलेर लक्ष्य पूरा गर्‍यो । भालुन्टारका लागि सौरभ विक्रमले २७ बलमा ३ छक्का र ७ चौका सहित ५१ रनको अर्धशतकीय इनिङ्ग खेलेर आउट भए । तेस्रो स्थानमा आएका सन्तोष सुनारले ३ बलमा ११ रन जोड्दा सञ्जिव सुनारले ७ रन बनाए । बलिङतर्फ वडा ५ का विपिन भण्डारीले १ विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको वडा ५ का प्रकाश घिमिरेले २८, मदन गोलेले २६, अमर गोलेले १२ र महेश बज्यूले ७ रन जोड्दा ओपनिङ व्याटर विपिन भण्डारी शुन्य रनमा आउट हुन पुगेका थिए । बलिङतर्फ भालुन्टारका सौरभ विक्रम र उद्दव ढकालले १/१ विकेट लिएका थिए । दोस्रो खेलमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका शौरभ विक्रम म्यानअफ दि म्याच घोषित भए ।

शुक्रबारै भएको तेस्रो तथा अन्तिम खेलमा पहिला ब्याटिङ गरेको मक्रानचुली रेडले १० ओभर पूरा खेलेर ३ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । जसका लागि ओपनिङ ब्याटर रविन्द्र विक्रमले ५७ रनको अर्धशतकीय इनिङ्ग खेले । उनले ३४ बलमा १ छक्का र १० चौकाका प्रहार गरे ।

त्यस्तै, विदुर हुमागाई अविजित २२, उत्सर्ग लामिछानेले १८, बिनम्र अधिकारीले २ रन जोड्दा कृतिश दहाल १ रनमै आउट भए । बलिङतर्फ राम तिमल्सिना, दिवस ढुङ्गाना र रोशन तिमल्सिनाले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा मैदानमा उत्रिएको मक्रानचुली लाइट १० ओभर पूरा खेलेर ५ विकेटको क्षतिमा ८० रन मात्रै बनाउन सक्यो । मक्रानचुली लाइटका कमल पराजुली ३८ रन बनाउँदा बाहेक अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । राम तिमल्सिनाले १५, सौगात दहालले ११ र रोशन तिमल्सिनाले ४ रन बनाउँदा निश्चल दाहाल, निश्चलराज चौलागाई र एन्जल घिमिरे शन्य रनमा आउट भए । उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेको रबिन्द्र विक्रम तेस्रो खेलका म्यानअफ द म्याच घोषित भए ।

लिगकम अकआउटको आधार खेलाइएको प्रतियोगिताको समूह ए मा दुई खेलबाट १ हार र १ जितसहित २ अंक जोडेको मक्रानचुली रेड अंकतालिकाको शीर्ष स्थानमा छ भने सनराइज १ खेल खेलेको सनराइज २ अंकसहित दोस्रो र आफ्नो पहिलो खेलमै हार व्यहोरेको मक्रानचुली रेड तालिकाको पुछारमा रहेको छ ।

त्यस्तै, समूह बी मा आफ्नो पहिलो खेलमा सानदार जित दर्ता गरेको वार्ड २ भालुन्टार २ अंक सहित शीर्ष स्थानमा छ भने वडा ५ तालिकाको पुछारमा छ । समूह बी मा गढी दरबार (जिडी) स्पोर्टसले भने आफ्नो पहिलो खेल खेल्नै बाँकी छ ।

प्रतियोगिताको दोस्रो दिन शनिबार ५ खेल हुने मकवानपुर क्रिकेट क्लबका सचिव रविन्द्र विक्रम सापकोटाले जानकारी दिए । पहिलो खेल शनिबार बिहान ८ बजे जिडी स्पोर्टस् र वार्ड २ भालुन्टारबीच हुने उनले बताए ।

मकवानपुरगढी क्रिकेट क्लबसँगको सहकार्यमा मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा भएको यस प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मकवानपुरगढीका ६ वटा टोलीको सहभागीता रहेको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको छ । सहभागी ६ टोलीलाई ३–३ टोली गरी (समुह ए र बी)दुई समूहमा विभाजन गरिएको छ ।

समूह चरणको खेल लिग सिंगल राउण्ड हुनेछ । समुह चरणको लिगमा विजेता र उपविजेता हुने टोलीले सेमिफाइनलमा स्थान पाउनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग र समूह बी को विजेताले समूह ए को उपविजेतासँग फाइनल प्रवेशका लागि भिड्नेछ ।

समूह ए मा सनराइज युवा क्लब, मक्रानचुली रेड र मक्रानचुली लाइट रहेका छन् भने समूह बी मा वडा नम्बर ५, वार्ड २ भालुन्टार र गढी दरबार (जीडी) स्पोर्टस् रहेका छन् ।

मकवानपुरगढी गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने खेलाडीहरुले मात्रै सहभागिता रहेको छ ।

मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष हिरा लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रशाकीय अधिकृत सुधन लामिछाने, रास्वपा मकवानपुरगढीका अध्यक्ष अर्जुन दाहाल, माओवादी केन्द्र मकवानपुरगढीका अध्यक्ष सुनिल खड्का, युवा संघ मकवानपुरगढीका अध्यक्ष विष्णु सिलवाल, राप्रपा मकवानपुगढीका अध्यक्ष राम कुमार मगरलगायतको उपस्थिति रहेको थियो ।