
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज शुक्रबारबाट टी–१० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
मकवानपुरगढी क्रिकेट क्लबसँगको सहकार्यमा मकवानपुरगढी खेलकुद विकास समिति आजदेखि १८ गते आइतरबारसम्म टी–१० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्ले मैदानमा हुनेछ । मकवानपुरगढी गाउँपालिकामा पालिकाको सहयोगमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
मकवानपुरगढी क्रिकेट क्लबका सचिव रवि सापकोटाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा मकवानपुरगढीका ६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग र नकआउट दुबैचरणमा खेलाइने छ । सहभागी ६ टोलीलाई ३–३ टोली गरी (समूह ए र बी)दुई समूहमा विभाजन गरिएको छ ।
समूह चरणको खेल लिग सिंगल राउण्ड हुनेछ । समूह चरणको लिगमा विजेता र उपविजेता हुने टोलीले सेमिफाइनलमा स्थान पाउनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग र समूह बी को विजेताले समूह ए को उपविजेतासँग फाइनल प्रवेशका लागि भिड्नेछ ।
समूह ए मा सनराइज युवा क्लब, मक्रानचुली रेड र मक्रानचुली लाइट रहेका छन् भने समूह बी मा वडा नम्बर ५, वार्ड २ भालुन्टार र गढी दरबार (जीडी) स्पोर्टस् रहेका छन् ।
आयोजकका अनुसार उद्घाटन खेलमा सनराइज युथ क्लब र मक्रानचुली रेड भिड्ने छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो र दोस्रो दिन समान ४–४ वटा खेल हुनेछ ।
लिग चरणको दोस्रो खेल वडा नम्बर ५ र वार्ड २ भालुन्टार, तेस्रो मक्रानचुली रेड र मक्रानचुली लाइट, चौथो वार्ड २ भालुन्टार र जीडी स्पोर्टस्, पाँचौ सनराइज र मक्रानचुली लाईट, छैटौँ खेल वडा नम्बर ५ र जीडी स्पोर्टस्बीच हुनेछ ।
मकवानपुरगढी गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने खेलाडीहरुले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्