file photo

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको बताएका छन्। अछाममा आयोजित पत्रकार सम्मेलनमा बादलले हिंसामा मर्ने र मार्ने हुने टिप्पणी गरेका हुन्।

जनयुद्ध भनेको हिंसा नै हो। जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो, हिंसामा मर्ने र मार्ने हुन्छ। ओलीको भनाईमा मेरो आपत्ति छैन।’ बादलले भने, ‘यो कुरालाई माओवादीले पनि मान्छ। मार्क्सवादीहरुले मान्छ, युद्ध हिंसा भनेको वर्ग संघर्ष हो। हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो। वाक युद्ध वा शान्तिपूर्ण प्रदर्शन पनि हुन्छ। प्रत्येक हिंसा चाहिँ युद्ध होइन फेरि, युद्ध भनेको राजनैतिक आन्दोलन र संघर्षको उच्चतम रूप मान्छ मार्क्सवादले।’

तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि जनयुद्ध र सशस्त्र संघर्षको विषयमा गहन छलफल भएको उनले खुलाए। १० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको नेकपा गठन हुँदा पनि लेखेको र एमालेको १० औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले जानकारी गराए।