हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । निर्माण व्यवसायी महासंघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट १८ गतेसम्म महोत्सवको आयोजना हुने भएको हो । संघले १० वर्षपछि दोश्रो संसकरणको महोत्सवको आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

महोत्सव तथा प्रदर्शनीबाट हुने निर्माण व्यवसायसँगै यसक्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुऱ्याउने उद्देश्यको साथ महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौति, अवसरका बारेमा छलफल, गोष्ठीलगायतका अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने आयोजकको भनाई छ । नेपालमा क वर्गका निर्माण व्यवसायीहरुसमेत सहभागी भई यस क्षेत्रसँग सरोकार राख्ने सरोकारवालासमेतको सहभागितामा हुने छलफल, गोष्ठीका निस्कर्षहरु नीति निर्मातालाई ध्यानाकर्षण गराइने छ ।