हेटौंडा । मकवानपुरमा २२ हजार बढी किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार जिल्लाका सबै दशै स्थानीय तहका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीहरु र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी २२ हजार ७ सय १३ जनालाई क्यान्सरविरुद्ध एचपीभी खोप लगाइनेछ ।

उनका अनुसार देशव्यापी रुपमा विश्व क्यान्सर दिवसको दिन माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियान मकवानपुरमा भने माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा मकवानपुरगढी गाउँपालिकाको चण्डिका माविबाट खोप अभियान शुभारम्भ गरिने मिजारले बताए ।

प्रमुख मिजारका अनुसार विद्यालय लक्षित खोप केन्द्र २ सय ४० र अन्य खोप केन्द्र १ सय १० गरी ३ सय ५० खोप केन्द्रमा अभियान सञ्चालन हुनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना किशोरीलाई विद्यालयमै र विद्यालय नजाने करिब ६ सय ५४ जना किशोरीहरुलाई खोप लगाइने प्रमुख मिजारले बताए । खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वमसेवक परिचालन गरिनेछ ।

प्रमुख मिजारले प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वमसेवक परिचालन गरिने जानकारी गराए । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी खोप अभियान प्रभावकारी बनाइने बताउँदै उनले कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई तालिमसमेत दिइएको बताए ।