हेटौंडा ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सबै नागरिकलाई अनिवार्य स्वास्थ्य विमा अभियानमा सहभागी हुन अनुरोध गरेका छन् ।
स्वास्थ्य विमाको धेरै फाइदा रहेको र यसले नागरिकलाई आर्थिक तथा स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि प्युटारमा सुरु भएको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य प्रवर्द्धन अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य विमाको महत्व नेपालको सन्दर्भमा निकै ठूलो रहेको बताए ।
मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिए ।  दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभावका कारण बसाइँसराइ भइरहेकाले यो समस्यालाई समाधान गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ। “रोगका कारण हिजो देखेको मान्छे आज नहुने परिस्थिति हटाउन सरकार लागि परेको छ,” उनले भने ।
शिविरमा गरिएको आँखाको जाँचमा मोतिबिन्दु देखिएका बिरामीलाई निःशुल्क अपरेशनलगायत अन्य उपचार प्रदान गरिने मन्त्री थापाले बताए ।