हेटौंडा  । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्ने भएको छ । वडाले यही माघ ११ र १२ गते हेटौंडा बसपार्कमा दोस्रो घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बुधबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष फूर्वा दोर्जे तामाङले स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र स्वरोजगार सिर्जनाको लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको बताए । नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि र ढाका कपडाका सामग्री प्रदर्शनी र बिक्रीमा राखिने छ । एकसय वटा निःशुल्क स्टलहरू व्यवसायीहरूलाई उपलब्ध गराइने उनले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार स्थानीय संस्कृति र परम्पराको संरक्षणका लागि सांस्कृतिक नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगितामा सबै वडाका इच्छुकले भाग लिन सक्ने बताइएको छ ।

नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ३५ हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै सान्त्वना पुरस्कार स्वरुप ४ समूहलाई प्रत्येक समूहलाई ५/५ हजार रुपैयाँ प्रादन गरिने उनले जानकारी दिए ।

कार्यक्रम आयोजनाका लागि ५७ सदस्यीय मूल समिति र ६ वटा उपसमितिहरू गठन गरिएको छ । टोल विकास संस्था, नगर समन्वय समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब र राजनीतिक दलहरूको सहकार्यमा कार्यक्रम सञ्चालन हुने बताइएको छ ।