हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ सिपालीचोकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।
फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको तीव्र गतिको बा. ९च १३३८ नम्बरको कारले स्थानीय प्रकाश गौतमको एक तले पक्की घरको सटरमा ठक्कर दिएको थियो । दुर्घटनामा गौतमकी ३२ वर्षीया श्रीमती मालती गौतमको दाहिने खुट्टा र हातमा गम्भीर चोट लागेको छ । उनलाई प्रारम्भिक उपचारपछि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ ।
त्यस्तै, सोही स्थानका सुधन आचार्यकी ३२ वर्षीया श्रीमती राधिका आचार्यको टाउकोमा चोट लागेकोले न्यूरो अस्पताल बाँसबारी काठमाडौं पठाइएको छ । उनका ८ वर्षीय छोरा श्रयान आचार्यको टाउको र ढाडमा चोट लागेकोले उनलाई पनि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ।
कार चालक हेटौंडा-१० का ५८ वर्षीय सानु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न कार अस्थायी प्रहरी पोस्ट हटियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।