हेटौँडा । कास्की जिल्ला अदालतको आदेशले बिहीबार साँझ हिरासतमुक्त भएका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं प्रहरी परिसरमा हाजिर हुने भएका छन् । हिरासतमुक्त भएका लामिछाने गएराति पोखरामै रहे ।
शुक्रबार उनी काठमाडौँ आउने र प्रहरी परिसरमा हाजिर हुने गरी बिहीबार साँझ रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई प्रहरीले जिम्मा लगाएको थियो । ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएपछि लामिछानेलाई कास्की प्रहरीले परिवारका तर्फबाट उनकी श्रीमती निकिता पौडेलको रोहबरमा कागज गरी रास्वपाका कार्यवाहक सभापति अर्याललाई जिम्मा लगाएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेर मुद्दा चलाएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले लामिछाने र छविलाल जोशीलाई उपस्थित गराउन काठमाडौं प्रहरी परिसरबाट पत्र प्राप्त भएको र दुवैलाई शुक्रबारसम्म उपस्थित हुने गरी अर्यालको जिम्मा लगाइएको बताए ।

जोशीविरुद्ध पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा परिसरबाट पक्राउ पुर्जी जारी भएर काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उनलाई छोरा रोचक जोशीको रोहबरमा अर्याललाई नै जिम्मा लगाइएको हो । शुक्रबार काठमाडौं प्रहरी परिसर पुगेपछि लामिछाने र जोशीलाई परिसरले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउनेछ ।