हेटौँडा ।  सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुँदैछ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकका अजेन्डा पनि तय गरेको थियो । जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बीच भइरहेको सहकार्यका विषयमा पनि छलफल हुने उल्लेख गरिएको छ । साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ-आफनो धारणा राख्नेछन् ।