हेटौँडा । बिहिबार दिउँस हेटौँडाको वडा नंबर ५ र ८ को सिमा क्षेत्रमा पर्ने गर्दमा एकाएक पाँच राउण्ड गोलीको आवाज सुनियो । उक्त क्षेत्रमा रहेको प्लटिङ एरियामा केहि सादा पोशाकका मानिसहरु बन्दुक सहित यताउता कुदिएका थिए भने केहि मानिसहरु भागाभाग गर्दै थिए । सुरुमा हेरिहाल्दा कुनै चलचित्रको छायांकन जस्तो देखिएपनि त्यो भने रिल नभइ रियल घटना थियो ।
चितवनबाट सेनासहितको निकुञ्जको टोलीले गैडाको खाग तस्करलाई नियन्त्रणमा लिनको लागि पाँच राउण्ड हवाइ फाईरिङ गर्नुपरेको थियो ।
यस्तो थियो घटना
केहि दिन पहिले चितवन राष्ट्रिय निकुञ्जले गैैँडाको खाग बोकेर बिक्रीको मोलमोलाइ गरेका तस्करको समूहबारे सुराक पाएको थियो । सूराकीले दिएको सोही सूचनाको आधारमा निकुञ्जले प्रमुख संरक्षण अधिकृत गणेश पन्तको नेतृत्वमा सूरक्षाकर्मीसहितको टोली निर्माण गर्यो । र सोहि समूह नक्कली ग्राहक बनेर खाग तस्करिको पिछा गर्न लाग्यो ।
तस्करहरुले कहिले पथलैया, कहिले त्यो भन्दा पनि पुर्वको क्षेत्र बोलाएपनि निकुञ्जले भने हेटौँडासम्म बोलाउन सफल भयो । ग्राहक बनेका निकुञ्जको टोलीलाई तस्कर भेट्न सहज भने भएन । खाग बिक्रीमा हिँडेका तस्कर ठूलो समुहमा थिए । उनीहरुले पनि प्रशासनले थाहा पाउँछन् कि भनेर ठाउँ ठाउँमा सुराक खटाएका हुन्छन् । त्यसैले एकैपटकमा खाग बिक्रीका लागि यहाँ आउँछौ भनेनन् ।

तीन दिनयता भने निकुञ्जको १२ जनाको टोली तस्कर फलो गर्न निस्किए । सुरुको दिन तस्करले खाग किन्न पथलैया बोलाए । टोली त्यही गयो । तर, उनीहरु आएनन् । त्यसपछि फेरि चितवन नै बोलाउँ भन्ने सल्लाह भयो । सोही आधारमा चितवन आउने भने । हिजो बुधबार चितवन आउने भनेपनि उनीहरु चितवन पनि आएनन् ।

अन्ततः मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८, मा रहेको गर्दई क्षेत्रमा पुगेपछि तस्करले पत्तो पाए कि, ग्राहक नभएर निकुञ्जका कर्मचारी आफूहरुलाई नियन्त्रणमा लिने प्रयासमा रहेछन् ।

तर, एकजना मात्रै नभएर ८र१० जनाको संख्यामा तस्कर समूह भएपछि सहज तरिकाले नियन्त्रणमा लिन संभव भएन । प्रमुख संरक्षण अधिकृत पन्तले भने, ‘उनीहरु ठूलो संख्यामा रहेछन् । हाम्रो टोलीले सजिलै नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हवाइ फायरिङ गर्नुपर्यो ।’

निकुञ्जको टोलीले पाँच राउण्ड हवाइ फायरिङ गरेर एक जनालाई मात्रै नियन्त्रणमा लिन सफल भयो । तर, निकुञ्ज प्रशासनका अनुसार एक जनालाई नियन्त्रणमा लिन सफल भएपनि ति व्यक्ति मूल व्यक्ति भएको प्रारम्भिक जानकारी आएको छ ।