हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

बुधबार परेको क्रिसमसको अवसरमा उनले शुभकामना सन्देशमार्फत शुभकामना व्यक्त गरेका हुन् । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दाजुभाई दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरूले येशु ख्रीष्टको जन्मदिनको रूपमा मनाउँछन् । क्रिसमसको बेला गीर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, सांगीतिक कार्यक्रम गर्ने, परिवार साथीसङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ ।

‘हाम्रो देश धर्म निरपेक्ष देश हो । सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ, हाम्रो धार्मिक सहिष्णुता संसारमै उदाहरणका रूपमा रहेको छ, हामी एक अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

चाडपर्वहरूले अङ्गीकार गरेका विशेषतालाई नेपाली समाज एकतामा बाँधिएको उनले बताएका छन् । क्रिसमसले नयाँ उर्जा र उमङ्ग ल्याउने अपेक्षा प्रदेश प्रमुख देवकोटाले व्यक्त गरेका छन् ।