हेटौंडा । बागमती प्रदेशका अधिकांश मन्त्री र सचिवहरू प्रदेश राजधानी हेटौंडामा नियमित नबस्दा विकास निर्माणका कामले गति लिन नसकेको पाइएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार मन्त्रीहरूलाई हप्ताको चार दिन र सचिवहरूलाई पाँच दिन अनिवार्य हेटौंडामै बसेर काम गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री लामाले अत्यावश्यक काम बाहेक हेटौंडा नछाड्न र मन्त्रालयमै बसेर काम गर्न कडा निर्देशन दिएका हुन् ।

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशको समीक्षा बैठकमा चार जना मन्त्री अनुपस्थित रहेका थिए ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार विशेषगरी बहुवर्षीय योजनाका कारण मन्त्रालयगत रूपमा खर्च कमी भएको छ ।

पछिल्लो समय मन्त्रीहरू विभिन्न कार्यक्रमको उद्घाटन र आफ्नो निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक गतिविधिमा बढी संलग्न हुन थालेपछि प्रदेश सरकारको चौतर्फी आलोचना भइरहेको छ ।