काठमाडौँ — सब्टिच्युट एन्थोनी एलान्गाले इन्ज्युरी समयमा गोल गरेपछि नटिङघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । फरेस्ट एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकाल्न सफल रहेको हो ।

भिल्लाले जोन डुरानको गोलले दोस्रो हाफमा अग्रता लिएको थियो । त्यसपछि निकोला मिलेनकोभिचले खेल सकिन तीन मिनेट अगाडि बराबरी गोल फर्काए । यो जितसँगै फरेस्टको १६ खेलबाट २८ अंक भएको छ ।

उसको अगाडि आर्सनले ३० अंकमा तेस्रो स्थानमा छ । आर्सनलले शनिबारको अर्को खेलमा एभरटनसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । यस्तै शीर्षमा रहेको लिभरपुल पनि फुलहमसँग घरमै २–२ को बराबरीमा रोकियो ।

लिभरपुलको १५ खेलबाट ३६ अंक छ । समान खेलबाट चेल्सीको ३१ अंक छ । शनिबारको सबैभन्दा ठूलो विजेता भने न्युकासल युनाइेटड रह्यो । उसले लेस्टर सिटीलाई ४–० ले हरायो । त्यसमा ज्याकोब मर्फिले दुई गोल गरे ।

यस्तै रेलिगेसनबाट बच्न संघर्षरत टिमबीचका खेलमा इपस्विच टाउनले उल्भ्सलाई २–१ ले हरायो । हारले उल्भ्स नौ अंकमै सीमित रह्यो भने इपस्विचको १२ अंक भएको छ ।