काठमाडौँ — एमालेले गठबन्धन सरकारको कामकारबाही, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र स्थानीय तह उपनिर्वाचनको परिणाम समीक्षा गर्ने भएको छ । समीक्षाका लागि केन्द्रीय सचिवालय बैठक मंगलबार बोलाइएको छ ।
सचिवालय बैठकमा सरकारको कामलाई गति दिने विषयमा छलफल गर्ने तयारी रहेको एमालेका एक पदाधिकारीले बताए । उनका अनुसार सरकारको कामकारबाहीप्रति प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि सन्तुष्ट छैनन् । पहिलो सय दिन (कात्तिक ६), दोस्रो सय दिन (माघ १७) र आर्थिक वर्षको अन्त्यसम्ममा गर्नुपर्ने सार्वजनिक सेवा र पूर्वाधार निर्माणका विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीबीच गत भदौ २७ मा कार्यसम्पादन सम्झौता भए पनि त्यसअनुरूप काम देखिन सकेको छैन ।
प्रधानमन्त्री ओलीले भने सरकारको नेतृत्व गरेको एक सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै लक्ष्यको ७० प्रतिशत काम गरेको दाबी गरेका थिए । तर मुख्य गरी सरकारी सेवामा सुधार देखिएको छैन भने विकास खर्चमा पनि सन्तोषजनक प्रगति छैन । ओली सरकार अंकगणितका हिसाबले बलियो भए पनि गठबन्धनको साझा संकल्पमा रूपमा अघि सारिएको सरकारको साझा न्यूनतम कार्यक्रम प्रभावकारी रूपमा लागू हुन सकेको छैन । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने सरकार लक्ष्य पूरा गर्ने दिशामा अघि बढेको दाबी गर्छन् ।
प्रतिक्रिया दिनुहोस्