हेटौंडा । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने बताएका छन् । बिआरआई सम्झौता स्वागतयोग्य भएको बताउँदै यो सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको ४ दिने औपचारिक भ्रमण सकाएर विभिन्न सम्झौता गरेर स्वदेश फर्कँदै गर्दा पूर्वपरराष्ट्रमन्त्री थापाले चीनसँगको सम्झौता कार्यान्वयन हुन नसक्ने दाबी गरे ।

बिहीबार गृहनगर हेटौंडामा आफ्नो पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ माथि वार्ता कार्यक्रममा सहभागी थापाले बिआरआईबाट मुलुकले लाभ लिनुपर्ने भए पनि कार्यान्वयन नै हुन नसक्ने जीकिर गरे । चीनसँगको बीआरआई सम्झौताबाट मुलुकले लाभ लिनुपर्ने उनको भनाइ थियो ।

बिआरआई सम्झौताको विषय चिन्ता लिनुपर्ने विषय नभएको जीकिर गर्दै अध्यक्ष थापाले भने, ‘बिआरआई सम्झौता स्वागतयोग्य छ । तर यो कार्यान्वयन हुन्न । लगानीको मोडलका विषयमा कांग्रेस-एमाले बीच नै मतभेद छ । अनेक अर्थ लाग्ने अस्पष्ट छ । चीन र नेपालबीच नै मतभेद छ ।’

सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्नेमा पनि थापाले जोड दिएका छन् ।

‘छिमेकी मुलुक भारतसँग पनि युग सुहाउँदो नयाँ सन्धि जरुरी छ । १९५० को सन्दर्भ र आजको समय उही छैन’, थापाले भने, ‘भारतसँगको सम्बन्ध र निर्भरताको विकल्प र मार्ग खोजी गर्नु जरूरी छ ।’ आफै परराष्ट्रमन्त्री भएका बेला चीनसँगको पारवाहन सन्धि सन्धिमा मात्रै सीमित भएको पनि थापाले औँल्याए ।

अध्यक्ष थापाले भारतसँगको सन्धि, सम्झौतामा पनि पुनरावलोकन जरुरी रहेको बताए । राजनीतिका हिसाबले भारतले नेपाललाई बेलायती दृष्टिकोण प्रेरित जवाहरलाल नेहरूको दृष्टिकोणबाटै हेर्ने जीकिर गर्दै थापाले भने, ‘लामो समय नेपाल अन्तर्राष्ट्रिय समुदायमा सुरक्षा र परराष्ट्र नीति भारतबाटै निर्देशित थियो । मोदी पनि नेहरूकै पालाको दृष्टिकोणबाट नेपाललाई हेरिरहेको छ ।’

गृहनगरमा थापाको कृतिमाथिको विमर्शलाई साहित्यकार निमेष निखिलले सहजीकरण गरेका थिए ।

तीन पटक परराष्ट्रमन्त्री बनेका थापाले आफ्नो कृति आत्मकथा नभई सत्यमा आधारित वास्तविक विवरण भएको बताए ।

संविधान सभाबाट संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र त्यसकै सेरोफेरोमा नेपालको भूराजनीतिको तथ्यपरक विवरण प्रस्तुत भएको थापाको भनाइ छ । कुटनीति र परराष्ट्रका विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेजको रुपमा आफ्नो पुस्तक उपयोगी र पठनीय हुने थापाको भनाइ छ ।