हेटौंडा । हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा अनियमितता भएको पाइएको छ । शाखामा सात करोड रुपैयाँ बराबरका विद्युतीय सामानहरू गायब भएको पाइएको हो ।
प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाका अनुसार खरिद व्यवस्थापन महाशाखाबाट केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका सामानहरू कर्मचारीहरूको लापरबाहीका कारण हराएका हुन् ।
केन्द्रीयस्तरमा गठित छानबिन समितिले यस सम्बन्धमा विस्तृत प्रतिवेदन पेश गरेको छ र संलग्न व्यक्तिहरूलाई कारबाहीको लागि सिफारिस गरेको छ ।
हेटौंडास्थित जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेख अनुसारका सामानहरू नपाइएपछि यो वास्तविकता सार्वजनिक भएको हो ।
महाशाखा प्रमुख झाका अनुसार खरिद गरिएका सामानहरूको अभिलेख छ तर वास्तविक स्टोरमा ती सामानहरू छैनन् ।
अनुसन्धानका क्रममा केही सामानहरू अन्य प्रदेशमा गएको पाइए पनि सात करोड रुपैयाँ बराबरका सामानहरू अझै पनि गायब नै छन् ।
महाशाखा प्रमुख झाले तत्कालीन शाखा प्रमुखलगायत सम्बन्धित कर्मचारीहरूविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्