हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आगामी पुस महिनामा हुने निर्वाचनले स्थानीय व्यावसायिक क्षेत्रमा उत्साह ल्याएको छ । संघको ५८औं वार्षिक साधारण सभा तथा निर्वाचन पुस २४ देखि २७ सम्म हुँदैछ ।

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोदसिंह रानाभाटले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । दुवै उम्मेदवारले आफ्नो पक्षमा व्यवसायी समुदायलाई आकर्षित गर्न प्रचार अभियान पनि सुरु गरेका छन् ।

उद्योगी व्यापारीहरू दुई खेमामा विभाजित भई प्रचार अभियान चलिरहेका छन् ।

रानाभाटले बुधबार आफ्नो सम्पर्क कार्यालय हेटौंडा-२ को पल्पसारोडमा स्थापना गरी उम्मेदवारी घोषणा गरेका हुन् । रानाभाटले व्यवसायीको हितका लागि ठोस काम गर्ने र संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अग्रवालले मंगलबार नै उम्मेदवारी घोषणा गरेका थिए । अग्रवालले १७ वर्षको संघ अनुभवसहित अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाविक बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघमा हाल दुई हजारभन्दा बढी उद्योगी व्यवसायी आवद्ध छन् । आउँदो निर्वाचनमा कम्तिमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुवै प्यानलका उम्मेदवारहरूले मकवानपुरका वस्तीपुर, हटिया, हर्नामाडी र छतिवनलगायतका बजारका व्यवसायी मतदाताहरूसँग भेटघाट तीव्र पारेका छन् ।