झिलिमिलि पश्चात हेटौँडाको सहिद स्मारक

हेटौँडा । देशकै चर्चित पर्यटकीय स्थलको रुपमा रहेको हेटौँडा–११ मा रहेको सहिद स्मारकमा लाईट जडान गरिएको छ । नयाँ वर्ष २०८१ बाट रातको १० बजेसम्म सञ्चालनमा ल्याइएपछि स्मारक क्षेत्रमा अब रात्रिकालिन समयमा पनि घुमफिरको सुविधा प्राप्त भएको छ ।
लाईट जडानको पहिलो चरण अन्र्तगत अहिले स्मारकको तल्लो भागमा घुम्नको लागि ब्यवस्थापन गरिएको छ । तल्लो भागमा रहेको पुल, सहिद पार्क, चिडियाखाना लगाएतको क्षेत्रमा बत्ति जडान गरि झिलिमिलि बनाईएको छ ।

नयाँ वर्षको पहिलो दिन रात्रिकालिन समयमा घुम्न आउनेको संख्या उल्लेख्य रहेको सहिद स्मारक विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष एवम् बागमती प्रदेशमा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले रात्रिकालिन समयमा खुल्ला गरिएको सहिद स्मारकले पर्यटनको आगमन तथा विकासमा थप टेवा पुग्ने बताए ।

घुम्न मन भएका तर दिनभर कामको ब्यवस्थताले समय निकाल्न समस्या भएका ब्यक्तिहरुलाई पनि रात्रिकालिन समयमा घुम्नको लागि सहज वातावरण निर्माण हुने उनको भनाई छ । वाह्य पर्यटकहरुले पनि रातिको समयमा स्मारकमा आएर मनोरञ्जन लिन सक्ने सुविधा दिईएको समितिका कार्यलय प्रमुखका रुपमा रहेका रामचन्द्र न्यौपानेले बताए । आम जनमानसको चाहाना बमोजिम रात्रिकालिन समयमा पनि घुम्न मिल्नेगरि काम गरेको उनको भनाई छ ।