रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश आज बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।

ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम राख्न भन्दै गत शनिबार बेलुका ५ बजेबाट ईशनाथ नगरपालिकाअन्तर्गत वडा नं. २, ३, ४, ५, ६ र ७ मा कर्फ्यू आदेश जारी गरिएको थियो । तर, हाल स्थिति सामान्य भइसकेकोले बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी कर्फ्यू पूर्णरुपले हटाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सार्वजनिक सूचना निकालेर जानकारी दिएका छन् ।