काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक सुरु भएको हो ।

आजदेखि सुरु भएको बैठक फागुन १० गतेसम्म चल्ने छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको फोटोमा माल्यार्पण गरी बैठकको उद्घाटन गरेका छन्।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन् ।

यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिने, जसमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

महासमिति बैठकले पार्टीको विधान र आगामी बाटो तय गर्ने हुनाले पार्टीको कार्यदिशाका लागि महत्वपूर्ण मानिन्छ ।