हेटौंडा । केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपाल मकवानपुरबीच हुने मैत्रीपूर्ण फुटबलको तयारी पूरा भएको छ ।

सोमबार हुने सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि युवा संघ मकवानपुरले प्रेस चौतारीलाई जर्सी हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा नेकपा एमाले मकवानपुर जनवर्गीय सङ्गठनका सहसंयोजक आरती पाठक, युवा संघ बागमती प्रदेशका कोषाध्यक्ष नरेन्द्र भण्डारी, जिल्ला अध्यक्ष राजेश नगरकोटी, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला कोषाध्यक्ष प्रतीक्षा न्यौपानेलगायतको सहभागिता थियो ।

राष्ट्रको लागि र स्वास्थ्यको लागि खेलकुद अनिवार्य भएकोले मैत्रीपूर्ण प्रतिष्पर्धामा खेल आयोजना गर्न लागिएको युवा संघ मकवानपुरका अध्यक्ष नगरकोटीले जानकारी दिए । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा केपी ओली कप फुटबल प्रतियोगिता हुँदैछ ।

मैत्रीपूर्ण सेभेन ए साईड फुटबल खेलले केपी ओली कप फुटबल प्रतियोगिताको प्रचार हुनुका साथै २ संगठनबीचको सम्बन्ध सुमधुर हुने प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष अधिकारीले बताए ।

हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा बिहान ८ बजे हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्नेछन् ।