काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले भट्टसहित तीन जनाको नाम अन्तिम सिफारिस गरेको थियो । निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मङ्सिर २६ गते पदबाट राजीनामा दिएपछि यो पदमा पदपूर्ति प्रक्रिया शुरु गरिएको थियो । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए ।

१४ जना मध्येबाट कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जना सिफारिश भएका थिए । भट्ट हाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।