हेटौंडा । आउँदो फागुन १० गतेबाट हेटौंडामा जिल्लास्तरीय जुनियर क्योकुशिन कराते प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ मकवानपुरले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता हुन लागेको जनाएको छ ।

प्रतियोगितामा महिला तर्फ ३० केजी मुनि, ३५ केजी, ४५ केजी र ५० केजी मुनि र पुरुषतर्फ ३० केजी, ३५ केजी, ४५ केजी र ५० केजी मुनिका समुहगत प्रतिस्पर्धी खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा १ सय ५० खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

महासंघका जिल्ला अध्यक्ष सविन मुक्तानले प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २र२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र दिईने बताए । उनका अनुसार फागुन १२ गते अन्तिम दिन घ्याम्पो ब्रेकिङ्ग, आइस ब्रेकिङ्ग, टायल ब्रेकिङ्ग, लठ्ठी बेकिङ्ग, मोटर साइकल पेटबाट गुडाउने र ढुङगा ब्रेकिङ्ग जस्ता प्रदर्शन रहने छ।

त्यस्तै, क्योकुशिन कराते खेलाडहिरुबाट प्रदर्शनी हुने छ । समापन समारोहमा मकवानपुरबाट राष्ट्रिय स्तर खेल्ने खेलाडीलाई सम्मान गरिने बताइएको छ ।

महासंघ बागमती प्रदेश सचिव जय श्रेष्ठले देशमा सबैभन्दा बढी अन्तराष्ट्रिय स्तरको पदक भित्र्याउने कराते खेललाई सरकारले लगानी नगरेको गुनासो गरे । सरकारले फुटबललाई मात्र खेलको रुपमा हेरेको उनको भनाइ थियो ।