काठमाडौं । ओपनर तथा विकेटकिपर अनिल साह र युवा ब्याटर देव खनाललाई समेट्दै आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा हुने शृंखलाका लागि पुनः नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

क्यानले लिग–२ शृंखलाका लागि यसअघि नै राष्ट्रिय टिमको घोषणा गरिसकेको थियो । तर, घरेलु मैदानमै सम्पन्न क्यानडासँगको एकदिवसीय शृंखलामा अनिल र देवले उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरुलाई लिग–२ को शृंखलामा समेटिएको हो । उक्त शृंखलाको सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका अनिलले एक शतक र एक अर्धशतकसहित १६२ रन बनाएका थिए । उक्त शृंखलामा अनिलले तीनमध्ये दुई खेलमा मात्र मौका पाएका थिए । यस्तै, तीन खेलको शृंखलामध्ये एक खेलमा मौका पाएका देवले पनि अर्धशतक पार गर्दै ७६ रन बनाएका थिए ।

अनिल र देवले टिममा स्थान बनाउँदा यसअघि टिमका रहेका रिजन ढकाल र विकेटकिपर अर्जुन साउद टिमबाट बाहिरिएका छन् ।

लिग–२ मा नेपालले १५ फेब्रुअरीमा नामिबियासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । १७ फेब्रुअरीमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । १९ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्दा २१ फेब्रुअरीमा नेपालले पुनः नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । यस्तै, नेपालले शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सँग २५ फेब्रुअरीमा खेल्नेछ ।

नेपाली टिमः
रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, पनव सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ