हेटौंडा । छैटौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको (एपीएफ) क्लबले जितेको छ ।

शनिबार मकवानपुरको हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा एपीएफले न्युरोड टिम (एनआरटी) क्लबलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमार्फत् खेलको निर्णय लिइएको हो ।

पेनाल्टी सुटआउटमा एपीएफका एनिसेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए भने दिपेश धिमाल र बुद्धिमान राई गोल गर्न चुके ।

एनआरटीका लागि पेनाल्टीमा जय गुरुङ, प्रिसो, विवेक गुरुङले गोल गर्दा सन्तोष तामाङ र अभिषेक गुरुङले गोल गर्न सकेनन् ।

सडनडेथमा एपीएफका मणि लामा र फोफनाले गोल गरेका थिए । एनआरटीका मोहित गुरुङले गोल गर्दा रनदीप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोकेका थिए ।

एपीएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्‍यो ।