हेटौंडा । मकवानपुर हेटौंडा उपमहानगरपालिका–१४ का रामबहादुर रुम्बाले आमाबुबा र दाइको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका छन् ।

उनले आमा केशरी, बुबा सुनलाल र दाई जितबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतीक्षालय निर्माण गरेका हुन् । करिब १ लाख ५० हजार लागतमा निर्माण गरिएको प्रतीक्षालयको शनिबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् ।

प्रतीक्षालय उद्घाटन गर्दै नगर प्रमुख लामाले सामाजिक कार्यले हेटौंडा उपमहानगरको विकासमा सहयोग पुग्ने बताइन् । लामाले आफ्नो परिवारको सम्झनामा प्रतीक्षालय निर्माण गरेकोमा रुम्बा परिवालाई धन्यबाद दि‌दै सामाजिक कार्यमा जोडिन आग्रह गरिन् ।

१४ नम्बर वडालाई हेटौंडा बजारसँग जोडेर बजारको अनुभूति हुने गरी काम गर्ने तयारी उपमहानगरपालिकाको रहेको उनले बताइन् । आफ्नो कार्यकालमा सबै पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेको लामाले बताइन् । निर्मित प्रतीक्षालय सक्रिय टोल कालोपानी, कालोपानी हुँदै उत्तरपानी र कालोपानी हुँदै बाँडाचौर जाने बाटोको मध्यभागमा पर्दछ । तीनतिरबाट आएका यात्रुहरुलाई थकान मार्न प्रतीक्षालयमा प्रयाेगमा आउन सक्छ ।