हेटौँडा । ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।
निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो ।

हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा भएको खेलको टाइब्रेकरमा एनआरटीको अभिषेक लिम्बु, जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गरेका थिए । मोहित गुरुङको चर्च ब्वाइजका गोलकिपर रेम्बो चौधरीले बचाएका थिए ।

टाइब्रेकरमा चर्च ब्वाइजका निरज कार्की, बिकु राई, कमल श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो । विदेशी खेलाडी बाउण्डोमाको प्रहार बाहिरियो भने लक्षु थापाको प्रहार एनआरटीका गोलकिपर प्रिसोले रोकेका थिए । २ गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै
एनआरटीले खेललाई टाइब्रेकरमा पुर्याएको थियो। ९० औं मिनेटमा अशोक थापा ब्याक हिलमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने आशा दिलाए । त्यसपछि इन्ज्युरी समयको चौथो मिनेटमा विदेशी खेलाडी ग्लोरीले गोल गरेपछि एनआरटी खेलमा फर्किएको थियो।