

हेटौँडा । मकवानपुरको हेटौँडामा आजबाट सुरु भएको छैठौँ संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहिको बागमती फुटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सर्लाहिको बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै सानदार जित निकालेको छ । हेटौँडा–६ को गौरिटार फुटबल रंगशालामा भएको प्रतियोगितामा सर्लाहिको लागि खेलको चौथो मिनेटमा राज भुसालले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औँ मिनेटमा जर्सी नंबर १० का सिजन गौतमले गोल गर्दै टिमलाई २–० को अग्रता दिए ।
पहिलो हाफ २–० को अग्रतामा रहेको बागमतीले दोश्रो हाफको ६० औँ मिनेटमा पुन गोल गर्यो । बागमतीको लागि भुसालले ब्यक्तिगत दोश्रो गोल गरेपछि बागमती ३–० को अग्रतामा रहेको थियो । तर खेलको ८१ औँ मिनेटमा भुटानका सिरुप दोर्जेले गोल गर्दै खेलमा फर्कने प्रयास गरे । तर दोर्जीको एक गोल उनिहरुको लागि खेलमा फर्कन पर्याप्त भएन र खेल बागमतीले ३–१ ले जित्यो । खेलको म्यान अफ द म्याज दुई गोल गर्ने भुसाल भए ।
मकवानपुरका स्थानीय तहरुको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने पनि मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा देश तथा विदेशका १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले गरेकि हुन् । उद्घाटन गर्दै लामाले फुटबल खेलको विकासको लागि उपमहानगरपालिकाले महत्वपूर्ण लगानी गरेको र यो क्रमलाई निरन्तरता दिने बताईन् ।
प्रतिक्रिया दिनुहोस्