हेटौँडा। रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ ।
आज क्लबका अध्यक्ष बलराम पुडासैनीको अध्यक्षतामा हेटौंडामा भएको कार्यक्रममा पत्रकार द्वय शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले नगदसहित पुरस्कार हस्तान्तर गरेका हुन् ।
सोही कार्यक्रममा रिपोर्टर्स क्लब मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने र सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै एष्ट्रोनोभा फाउण्डेशनलाई सम्मान गरिएको थियो ।
यसैगरी, पुरस्कृत हुनु भएका पत्रकार नवराज न्यौपानेले आफुले प्राप्त गरेको नगद रकम शहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको स्वास्थ्य उपचारको लागि सोही क्रममा हस्तान्तरण गरे ।
कार्यक्रममा सहित बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा राप्रपाका नेता सिताराम बर्तौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख रिताराम रिजाल, पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताव विष्ट, हालका महासचिव कृष्णसारु मगर, महासंघका जिल्ला उपाध्यक्ष धु्रव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्