हेटौंडा । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ बगुवामा गुडिरहेको टाटा सुमोमाथि ढुंगा खस्दा एकजना महिला गम्भीर घाइते भएकी छन् ।

सोमबार दिउँसो काठमाडौंबाट सर्लाही जाँदै गरेको ना १ ज ५९४३ नम्बरको सुमोमाथि ढुंगा खस्दा हाल नामथर नखुलेको अन्दाजी ३० वर्षीया महिला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सुमोमाथि ढुंगा खस्दा सुमोको झ्यालको सिसा फुटेर उनको टाउकोमा चोट लागेको हो । उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि सोही सुमोमा राखेर हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।