रोल्पा — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे । हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो ।
‘कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ? ।’ यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले यो पटक त्यत्तिले मात्र नपुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्