आकाश चन्दले करिअरको उत्कृष्ट बलिङ गरेपछि नेपालले अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ विश्वकपको ‘सुपर सिक्स’मा प्रवेश गर्न सफल भएको छ।

‘सुपर सिक्स’मा पर्नका लागि समूह चरणको जित्नै पर्ने अन्तिम खेलमा नेपालले टस जितेको अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा सीमित पार्‍यो।

नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो र एक विकेटले खेल जित्यो।

समूह ‘डी’ का तीन वटा खेलमा पराजय बेहोरेको अफगानिस्तान ‘सुपर सिक्स’बाट बाहिरियो भने न्यूजील्यान्ड, पाकिस्तान र नेपाल यो समूहबाट माथि उक्लिए।

अब नेपालले ‘सुपर सिक्स’मा समूह ‘ए’ का प्रतिद्वन्द्वीसँग खेल्ने छ।

समूह ‘ए’ मा भारत, बाङ्ग्लादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘ए’ बाट बाहिरिने एउटा टोलीको निर्णय हुन बाँकी छ।