एजेन्सी – युक्रेनी फरवार्ड अर्टिमको ह्याट्रिक मद्दतमा सानदार पूनरागमन जित निकाल्दै जिरोना स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । सेभियामाथि ५–१ को सानदार जित निकाल्दै जिरोनाले शीर्षस्थानमा पूनरागमन गरेको हो । त्यसअघि अल्मेरियामाथि ३–२ कोे नाटकीय पूनरागमन जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको थियो । तर, रियल लामो समय शीर्षस्थानमा रहन सकेन ।
घरेलु टोली जिरोना खेलको १०औं मिनेटमा पछि परेको थियो । इसाक रोमेरोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, सेभियाको अग्रत तीन मिनेट पनि टिकेन ।
मोन्टिलिभी जिरोनामा आइतबार राति भएको खेलमा अर्टिमले ६ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । १३औं मिनेटमा पहिलो गोल गरेका अर्टिमले १५औं र १९औं मिनेटमा ह्याट्रिक पूरा गर्दा जिरोना खेलमा ३–१ ले अघि बढ्यो ।
५६औं मिनेटमा भिक्टरले साभियोको पासमा गोल गर्दै जिरोनालाई ४–१ ले अघि बढाए । ८९औं मिनेटमा क्रिष्टियन स्टुएनीले गोल गर्दै जिरोनाको फराकिलो जित सुनिश्चित गरे । यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोनाले २१ खेलमा १६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ ।
यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको २१ खेलबाट ५२ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५१ अंक छ । पराजित सेभिया १६ अंक जोडेर रेलिगेसन जोनभन्दा एकस्थान माथि १७औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्