

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन् ।
लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका हुन् । गम्भीर अवस्थाका थामीलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घाइते दुईजनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडक खण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्