काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन् ।

नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताए । ‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दि गर्न मन पराउने’, ओलीले भने । पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट पारे । पैसाले समाजको स्तर, चेतनाको स्तर र सामाजिक मूल्यहरूको स्तर निर्धारण गर्दैन’, उनले भने । आफैलाई आफ्नो अनुशासनमा राख्ने कुरामा अहिले गम्भीर न्यूनता आएको ओलीले बताए । व्यक्ति अराजक र अनुशासनहीन भयो भने राज्यले पनि त्यसलाई अनुशासित बनाए राख्न नसक्ने उनले प्रष्ट पारे ।

आज कोही सबैभन्दा बढी अनुशासनमा बस्छ भने त्यो खेलाडी नै भएको ओलीले बताए । त्यसैले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा उनले जोड दिए । ‘अहिले खेलाडी बाहेक अन्यमा त्यस प्रकारको अनुशासन कम छ, खेलमा जस्तो अनुशासन चाहिन्छ त्यस खालको अनुशासन सामाजिक अभ्यासको रूपमा अगाडि बढाउन पर्दछ’, ओलीले भने । अनुशासनलाई जीवन पद्धतिको रूपमा विकसित गर्नुपर्नेमा उनले जोड दिए । मानिसलाई अरूले बाध्य पार्ने होइन आफैँ अनुशासित हुने पर्नेमा ओलीको जोड छ ।

ओलीले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने संकल्प बोकेर हिँडेको राष्ट्रिय शक्ति भएको बताए । त्यसैले एमालेका जनसंगठनको क्षेत्र बृहत्तर र व्यापक भएको ओलीको भनाइ छ । एमालेका जनसंगठनको राजनीतिकसँगै सामाजिक जिम्मेवारी पनि त्यतिकै भएको ओलीले प्रष्ट पारे । ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उनीहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यस कुरामा उनीहरू सचेत हुनु पर्ने बताए ।

ओलीले खेलकुद खेलाडीको मात्र विषय नभएको पनि बताए । खेलाडीले प्रतिस्पर्धा, पदक र सम्मानको लागि खेल्ने तर हरेक मानिसको स्वास्थ्य रहन कुनै न कुनै खेल खेल्नु पर्ने बताए । ‘त्यसैले हामीले सबैको लागि खेल भनेको हो’, उनले भने । खेलको लागि लगातार अभ्यास आवश्यक रहेको ओलीले बताए । बिना अभ्यास खेल सम्भव नभएको उनले प्रष्ट पारे ।