काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व सहकारी ठगीको आरोपमा सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

उनीसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईविरूद्व युवराज सफलले उजुरी दर्ता गराएका हुन्। लामिछान गोरखा मिडिया नेटवर्कका तत्कालीन एमडी थिए ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदनमा भनिएको छ ।

रविले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफू दोषी देखिए हदैसम्मको कारबाही भोग्न तयार रहेको बताएका छन् ।