काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँट गर्न बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भागबन्डाको टुंगो लगाउने तयारी थियो । बैठकमा कुनै सहमति हुन नसकेपछि बैठक विना निष्कर्ष सकिएको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई पनि सिट दिएर अघि बढ्नु पर्ने प्रस्ताव राखेका थिए । तर नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको एक नेताले बताए ।
सहमति नजुटेपछि आजै साँझ फेरि प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक बस्ने ती नेताले बताए ।
प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्याय सम्बन्धी कानुन सहमतिमै पारित गर्ने सर्तमा सत्ता पक्ष र एमालेबीच राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्ने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्