काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले ललितपुरको बालकुमारीमा दुईजना युवकको ज्यान जाने गरी भएको घटनालाई सामान्य मान्न नसकिने बताएका छन्।

मङ्गलवार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा उनले प्रथम दृष्टिमै त्रुटि रहेको बताउँदै घटना सामान्य मान्न नसक्ने बताएका हुन् । ‘बाललकुमारी घटना गम्भीर हो । प्रधानमन्त्री अहिले सुरक्षा निकायसँग छलफलमा हुनुहुन्छ । यस घटनालाई रूप र सारमा हेर्न जरुरी छ, यो घटनापछि जनतामा आक्रोश देखिनुलाई स्वाभाविक मान्न सकिन्छ । बालकुमारीमा गोली चलाइहाल्नुपर्ने अवस्था थिएन । तर यो घटनालाई हामीले स्वभाविक रुपमा लिएका छैनौँ । यो घटना रहस्यपूर्ण छ । अहिले अनेक कारण र बहानामा जनता भड्काउन खोजिएको छ । हामीले बालकुमारी घटनालाई त्यसैगरी विश्लेषण गरेका छौँ ।’ उनले भने ।