काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो ।

हिजो बिहीबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।

सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए । प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।