काठमाडौं । गृह मन्त्रालयले बालकुमारी आन्दोलनको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरिएको हो ।

शुक्रबार दिउँसो ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडी आगजनी गरेका थिए ।

तनावग्रस्त बनेको बालकुमारीमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज, अश्रु ग्यास र गोलीसमेत चलाएको थियो । प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाह छन् । समितिले ७ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउनेछ ।