हेटौंडा । सातै प्रदेशका मुख्यमन्त्रीहरू आज बिहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा भेला हुने भएका छन् । प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएको समस्याबारे छलफल गर्न र संविधान कार्यान्वयनमा देखिएका चुनौतीबारे छलफल गर्न उनीहरु हेटौंडामा भेला हुन लागेका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।

बिहीबार र शुक्रबार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासंघ, नगरपालिका संघका पदाधिकारीको सहभागिता रहने छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि भोलि शुक्रबार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम  छ ।