हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बाहिर हल्ला भएजस्तो संघियता धरापमा परिनसकेको बताएका छन् । हेटौँडामा आजबाट सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण विषयक अन्तरक्रिया बैठकमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले संघियतालाई लिएर हुने अनावश्यक टिप्पणी र वास्तविक अवस्था फरक रहेको बताए ।

संघिय गणतन्त्रको लागि हजारौको बलिदानी रहेको बताउँदै उनले नेपालमा राजतन्त्रको वकालत गर्नेहरुले गणतन्त्र र संघियताबारे अनावश्यक भ्रम छर्न खोजेको भन्दै संघियतालाई असफल बनाउने उनिहरुको प्रयास असफल हुने मुख्यमन्त्रीको दाबी रहेको छ । संघियताले विकासको चेतना आम नागरिकमा छरेको भन्दै उनले अप्ठ्यारा विषयहरुलाई टुंगो लगाउन संघ सरकारलाई अनुरोध गरिएको धारणा ब्यक्त गरे । राजतन्त्रको समयमा विकासको अवधारणाको विषयमा सामान्य वहस समेत गर्न नपाउने अवस्थाबाट अहिले विकास सँगै अनेकौ विषयमा खुल्ला बहस हुने युगको सुरु भएको भन्दै अहिलेनै आत्तिहाल्नुपर्ने अवस्था आईनसकेको उनले बताए ।

संघ सरकारले प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्नुपर्ने अधिकारको विषयमा आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराईसकेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले संघ सरकार अधिकार प्रत्यायोजनको विषयमा गम्भि रहेको धारणा ब्यक्त गरे ।