काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस गरेको छ ।

रथी सिताराम खड्काले ३ पुसमा अवकास पाएसँगै सेनाको बढुवा समितिले उनको ठाउँमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित गरेको हो ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सेनाको रथी बढुवाको सात दिने सूचना बुधवार प्रकाशित भएको जानकारी दिए । उनले बढुवा समितिले थापाको नाम रक्षा मन्त्रालयमा सिफारिस गरेकाे जानकारी सार्वजनिक सूचनामार्फत गराएकाे बताए ।

सेनामा दुई रथीको दरबन्दी रहेको छ । यसअघि उपरथी अशोकराज सिग्देलको रथीमा बढुवासँगै उनी भावी प्रधानसेनापतिको लाइनमा बसिसकेका छन् ।

उपरथी थापा हाल सिरिया र जोर्डनबीचको गालान हाइटमा रहेको अनडोफ मिसनमा फोर्स कमाण्डरका रुपमा कार्यरत छन् ।  थापाको शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत रहेको भन्दै प्रश्न उठे पछि उनको बढुवाको लागि सात दिने सूचना प्रकाशित भएको हो ।

थापा रथीमा बढुवा भए फोर्स कमाण्डरका रुपमा मिसनमै रहनेछन् । उनी तीन वर्षका लागि फोर्स कमाण्डर नियुक्त भएका थिए ।