काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै उनले यसका लागि सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको बताएका हुन् । प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।