हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको केन्द्र भागमा रहेको हेटौँडा ४ स्थित हुप्रचौर क्षेत्रमा निर्माण गरिने सम्mझौता भएको १३ तल्ले भ्यु टावर निर्माण योजना अलमलमा परेको छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम हुन नसक्नुमा हेटौँडा उपमहानगरपालिकाको कमजोरी रहेको भन्दै उल्टै क्षतिपुर्ती माग गरेपछि भ्युटावर निर्माणको काम किचलोमा फसेको हो ।
कामलाई निर्माण ब्यवसायीले आलटाल गरेको, उल्टै हेटौँडा उपमहानगरपालिकालाई क्षतिपुर्तिको माग गरेको भन्दै हेटौँडा उपमहानगरपालिकाले निर्माण कम्पनी विरुद्ध अदालतमा कानुनी लडाई लडने भएको छ । २०७८ मंसिर २० गते ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा लामा–रसुवा–बानियाँ जेभीले हेटौँडा उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो ।
१३ तल्ले भ्यु टावर निर्माण क्षेत्रमा रहेको सहिद बासुदेव सभागृहलाई भत्काएर सुरुको केहि दिन काम सुरु गरेजस्तो गरिएपनि त्यसयता ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बाहाना बनाउँदै कामलाई रोक्दै आएको थियो । भ्यु टावर निर्माण क्षेत्रमा पुर्वराजा विरेन्द्र शाहाको सालिक रहेको र सो सालिक हटाउन समस्या भएकोले आफुहरुले भ्यु टावर निर्माण गर्न नसकेको र यो विषयलाई समाधान गर्न नसकेको उपमहानगरपालिकाले क्षतिपुर्ती दिनुपर्ने माग कम्पनीले गरेको छ । तर उपमहानगरपालिकाले कामनै नगरि क्षतिपुर्ती माग गर्नु कम्पनीको बदनियत रहेको ब्याख्या गर्दै कानुनी लडाई लडने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्