काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब जिन्दावाद र मूर्दावादले मुलुकलाई निकास दिन नसक्ने बताएका छन्। शनिबार बिहान कास्कीमा गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले सिद्धान्त र वादको लडाईंले मलामी पाउनका लागि भाडामा मान्छे ल्याउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख हुन्। उनले देशमा कसैले भविश्य देख्न नसकेको बाहिरिनेक्रम जारी रहेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने,‘कुनै समय थियो जसले ठूलो स्वरले जिन्दावाद र मूर्दावाद भन्न सक्यो त्यति ठूलो नेता बन्थ्यो। तर अहिले जिन्दावाद र मूर्दावाद युग रहेन। अब कसले राम्रो नीति बनाउन सक्छ, त्यो नेता बन्ने युग आएको छ।’

उनले अघिल्लो पुस्ताले परिवर्तनका लागि रगत बगाएकाले अबको पुस्ताले बदलिदो विश्व परिस्थितिसँग जुध्न सक्ने क्षमतावान मान्छेलाई राजनीतिमा ल्याउने र देशलाई समृद्धितिर लैजाने योजना बनाउनुपर्ने बताए। उनले देशको समस्या एकातिर समाधान अर्कातिर दिन खोजेर सफल हुन नसकिने धारणा राखे।