हेटौंडा । मकवानपुरको हेटौंडा-७ नागस्वती स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रजत महोत्सव मनाउने भएको छ ।
आज शुक्रबार यहाँ पत्रकार सम्मेलन गर्दै संस्थाले विभिन्न कार्यक्रमहरूको घोषणा गरेको हो ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले विसं २०५६ पुस ७ गते २६ जना सेयर सदस्यको २ हजार ६ सय रुपैयाँ सेयर पुँजीबाट स्थापना भएको सहकारीले संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको बताए ।
उनका अनुसार कार्यक्रम अन्तर्गत पुस ८ गते सहकारीको हलमा जेष्ठ सदस्य सम्मान, ९ गते बाल कार्यक्रम तथा वनभोज, ११ गते रक्तदान, १२ गते म्युजिकल चेयर, घ्याम्पो फुटाइ, र सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता हुनेछ ।
यसैगरी, पुस १३ गते स्लो बाइक/स्कुटर रेस, ५०० मिटर दौड (पुरुष/महिला), फुटबल फाइनल र पुरस्कार वितरण साथै सोही दिन साँझ संस्थामा दीप प्रज्वलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने अध्यक्ष बस्नेतले बताए ।
आजै सहकारीका संस्थापकहरुलाई नगदसहित सम्मान गरिएको थियो ।
सहकारीमा कूल शेयर सदस्य संख्या ६ हजार ९ सय ३१ रहेका छन् भने मंसिर मसान्त सम्ममा शेयर पुजीँ ४ करोड ३६ लाख ९४ हजार २ सय रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ८० लाख ७० हजार ६८२ रुपैयाँ रहेको सहकारीले जनाएको छ । सहकारीको बचत निक्षेप ५० करोड ९७ लाख ८७ हजार ९७२ रहेको र कर्जा लगानी ५७ करोड ३२ लाख १५ हजार १०९ रुपैयाँ रहेको सहकारीका प्रवन्धक रामशरण गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्