हेटौंडा । मकवानपुरको हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडा–१० स्थित टिसियन चौरमा आजबाट महोत्सव सुरु भएको हो ।

बागमती प्रदेश सरकारकी वन तथा वातावरणमन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको उद्घाटन गर्दै उनले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताउँदै नकारात्मक भावनाहरुलाई त्यागेर खेलाडीहरु अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनीसमेत गरिएको थियो । खेलकुद विकास समितिको कार्यलयबाट निकालिएको र्‍याली हेटौंडा बजार परिक्रममा गरी महोत्सव स्थल पुगेको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्वनगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडाअध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

मेलाअवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुने आयोजकले जनाएको छ । मेलामा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका, लत्ताकपाडा, भाडाकुडा लगायतका किनमेलका करिब २ सय ६० वटा स्टल रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत हुने आयोजकले जनाएको छ । मेला पुस १७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।