हेटौंडा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र जति झर्नु छ झरिसकेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद विगठन गर्नुनै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसएता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै पुनले अब माओवादी कमब्याकको चरणमा रहेको बताए । उनले भने ‘हामीले संविधान बनाउन सकेनौ, सेटब्याक भो , त्यसपछि टुटफुट भो , एक पटक झरेपछी कमब्याक गर्न समय लाग्छ, तर हामी उठछौ । माओवादी झर्नु जति झरिसक्यो ।’

एमाले पनि २०५१ मा फुटेपछी पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए । माओवादी नेतृत्वमा रहेको सरकारको काम कामकारबाही सन्तोष जनक नआएको रिपोर्ट कार्डहरु बाहिर आएको सन्दर्भमा उनले अब सरकारले स्पिड लिने विश्वास व्यक्त गरे । पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउदै उनले आगामी चौमासिकमा सरकारको स्पिड बढने उनको भनाइ थियो ।

सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाइ असफल बनाउन घेराबन्दी भैरहेको भन्दै उनले राम्रो कामलाइ सबै दलले सहयोग गर्नुपर्ने सस्कारको विकास जरुरी रहेको बताए । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सहि रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुनर्निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । देश आर्थिक मन्दीमा गएको, श्रीलंका भएको भन्ने हल्ला गलत रहेको उनको भनाइ रहेको छ ।